कैलाली– जिल्लाकाे गोदावरी नगरपालिकामा नगरप्रमुखले नै छड्के अनुगमन गरेका छन । कार्यालय समयमा ढिलो आउने कर्मचारीहरुका बारेमा जानकारी लिन नगरप्रमुख विरेन्द्र भट्टले कार्यालयमै छड्के अनुगमन गरेका हुन ।
नगरप्रमुख भट्टले आफु कार्यालय समय भन्दा छिटो कार्यालयमा प्रवेश गरी कार्यालयमा ढिलो आउने कर्मचारीहरुलाई कार्यालयमा प्रवेशमा रोक लगाएका थिए । उनले कार्यालयमा बिहान १० बजेभन्दा ढिला आउने कर्मचारीहरुलाई प्रवेश रोक लगाउनुका साथै बेतलबी बिदा समेत दिएका छन ।
नगरप्रमुख भट्टले प्रशासनिक काम कुरा गर्न गाह्रो भैरहेको अवस्थामा कार्यालय समयमा कर्मचारीहरु नपुग्दा समस्या हुन थालेपछि उक्त कार्य गरिएको बताए । कार्यालयमा समयमै कर्मचारीहरु नआउदा शाखागत कामकारबाहीहरुमा ढिलाई भैरहेको उनले बताए ।
धेरै जसो कर्मचारीहरु साढे दश तथा एघार बजे पुग्ने गरेको बताउदै उनले त्यस्ता कर्मचारीहरुलाई बेतलबी बिदा दिने गरी कार्यालय प्रवेशमा रोक लगाईएको बताए । उनले कार्यालयमा सुशासन कायम राख्न पनि नियम बनाउन जरुरी रहेको बताए । उनले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कर्मचारीहरुले दोहो¥याए त्यस्ता कर्मचारीहरुलाई अन्य कारबाहीको प्रकृयामा लैजाने बताए ।
कार्यालयमा प्रत्येक दिन ढिला आउने कर्मचारीहरुलाई नियममा बाध्न यस्तो गरिएको बताउदै उनले कार्यालयको प्रशासनिक कामकारबाहीमा भने कुनै समस्या नहुने जानकारी दिए ।
बिहिबार बिहान १० बजे नगरपालिकाको गेट बन्द गरिएको थियो । नगरपालिकामा १० बजेपछि आउने कर्मचारीहरुलाई कार्यालय प्रवेश गर्न दिईएको थिएन ।